अख्तियारको टोलीद्वारा घुस लिँदा लिँदै तिलाठि–कोईलाडी गाउँपालिकाकाका कर्मचारी पक्राउ

 तिलाठि–कोईलाडी गाउँपालिकाकाका भौतिक पुर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डल
तिलाठि–कोईलाडी गाउँपालिकाकाका भौतिक पुर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डल

सप्तरीको तिलाठि–कोईलाडी गाउँपालिकाकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको ७० हजार नगद सहित पक्राउ परेका छन् ।

गाउँपालिकाको राजविराज ५ स्थित सम्पर्क कार्यालयवाट भौतिक पुर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरी स्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

टोलीका प्रमुख शाखा अधिकृत उमेश अधिकारीले मण्डलको साथवाट घुस वापत लिएको नगद ७० हजार वरामद भएको जानकारी दिए । गाउँपालिका वडा नं. ३ सकरपुरामा उपभोक्ता समिति मार्फत सडक ग्राभेलको काम सम्पन्न पश्चात् अन्तिम भुक्तानी दिने बेला मण्डलले उपभोक्ता समितिका पदाधिकारीबाट कमिसन वापत उक्त रकम लिएको अख्तियारका अधिकृत अधिकारीले बताए ।

यता पक्राउ परेका मण्डलले अख्तियारको आरोपको खण्डन गर्दै निर्माण कार्य गर्दै गरेका बेला ऋण दिएको रकम फिर्ता लिएको वताएका छन् । सकरपुराका केशरी सिंहलाई आफुले ऋण दिएको र सोहि रकम फिर्ता लिएको उनले दावी गरेका छन् ।

अख्तियारको टोलीले शुक्रबारै मण्डललाई आवश्यक मुचुल्का तयार गरिए पश्चात् अनुसन्धानका लागि ईटहरीस्थित सम्पर्क कार्यालय लगेको छ ।