आतंकवादका नाईके पाकिस्तानलाई भारतकाे कडा जवाफ

fighter-plane-lljpgभारत प्रशासित काश्मिरको पुलवामा भएको  हमलाको जवाफ स्वरुप भारतले पाकिस्तानमाथि गरेको जवाफी कारवाही पछि भारतभरि उत्साह मनाउने क्रम अहिले जारी छ । कतै दीपावली त कतै रंगोत्सवको आयोजना गर्दै जश्न मनाउन थालिएको छ । पाकिस्तानी सीमाको नियन्त्रण रेखा पार गर्दै आतंकवादी संगठन जैश ए मोहम्मदको अखडामा आक्रमण गरेको भारतले स्वीकारेको छ ।

मंगलबार भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले वायु सेनाले जैशको सबैभन्दा ठूलो तालिम केन्द्रलाई निशाना बनाएर आक्रमण गरेको भनि बताएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

जैश ए मोहम्मदले अर्को ठाउँमा पनि आक्रमणको तयारी गरिरहेको विश्वस्त सूचना प्राप्त भएको विदेश मन्त्रालयका सचिव गोखलेले बताएका छन् । सम्भावित आक्रमणलाई रोक्नकालागि यस्तो जवाफी कारवाही गरिएको उनले स्पष्ट पारेका छन् । भारतीय कारवाहीमा जैशका चरमपन्थी प्रशिक्षक र बरिष्ठ कमाण्डर मारिएको दावी गरिएको छ ।
मंगलबार विहान करिब साढे तीन बजे १२ वटा मिराज २००० लडाकू विमानले हजार किलो वम वर्षाएर ३ सय भन्दा बढी आतंकवादीहरुको ईन्काउन्टर गरेको भारतीय सञ्चार माध्यममा खबर छ । एबिपी न्यूजका अनुसार यसमा कयौं आतंकवादी क्याम्पहरु ध्वस्त भएका छन् ।

गत फेब्रुअरी १४ तारिखका दिन भारत अधिनस्त काश्मिरमा भएको आत्मघाती आक्रमणमा ४० भारतीय अध्र्दसैनिक वलको मृत्यु भएपछि पहिलो पटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको भारतीय कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले बताएका छन् ।

भारतले आफ्नो सैन्य विमानले आतंकवादीहरुको क्याम्पमा हमला गरेको र ठूलो संख्यामा आतंककारीहरु मारिएको बताएको छ । भारत र पाकिस्तान वीच हालैका दिनमा बढिरहेको विवादका वीच मंगलबार विहान यो घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

फेबु्रअरी १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आक्रमणमा पाकिस्तानी पक्षको हात रहेका भनि भारतले आरोप लगाएको छ । काश्मिरमा संघर्षरत मौलाना अजहरको नेतृत्वमा रहेको जैश ए मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई आफू समक्ष सुपुर्दगीकालागि आग्रह गर्नुका साथै पाकिस्तान बिरुध्द कुटनीतिक दवाव सिर्जना गरिरहेको छ । भारतीय सैन्य विमानले आतंकवादी क्याम्पमा गरेको हमलालाई आश्चर्यको विषय मान्नु यस कारण पनि जरुरी छैन,किनभने पुलवामा भएको आक्रमण लगत्तै यो संकेत भारतीय पक्षबाट दिईसकिएको थियो ।

सीमा नियन्त्रण रेखा आसपासका पाकिस्तानी आतंकी क्याम्पमाथि हमलाको संकेत भारतीय पक्षबाट दिईएको थियो । पुलवामामा भएको आक्रमण लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत केही कडा तथा  कठोर कदम उठाउँदै छ भनि दिएको अभिव्यक्तिले पनि यस कदमलाई आश्चर्य मान्नु आवश्यक थिएन ।

पाकिस्तान स्थित आतंकवादी क्याम्पमा हमला गरे पछि भारत कुटनीतिक स्तरमा पनि आफ्नो पक्षमा माहौल तयारीमा जुटेको छ । भारतको यस कदमको  अष्ट्रेलियाले सबैभन्दा पहिले समर्थन मात्र गरेको छैन,बरु आफ्ना भूमिमा काम गरिरहेका आतंकवादी संगठनमाथि सख्त कारवाहीकालागि पाकिस्तान सित माग समेत गरेको छ । युरोपेली यूनियनका कतिपय देशले समेत खुलेरै भारतको समर्थन गरेका छन् भने जर्मनीले पनि पाकिस्तान समक्ष आतंकवादीमाथिको समर्थन बन्द गर्नकालागि आग्रह गरेको छ । पाकिस्तानले भारतका दुई विमान खसालेर एक पाईलटलाई नियन्त्रणमा राखेको छ ।

आतंककारीलाई प्रश्रय दिएको भन्दै पाकिस्तानको आलोचना पनि भएको छ । नेपालमा पनि आतंकवादी यस्ता घटनाको बिरोध भएको छ । बीरगञ्जमा युवाहरुले प्रदर्शन गर्दै आतंकवादको बिरोध गरेका छन् ।

राजधानी काठमाण्डौं स्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन सहित बिरोध जनाईएको छ । नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भारत पाकिस्तान वीच बढ्दो तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

भारतको काश्मिर स्थित पुलवामा जिल्लामा भएको आतंककारी आत्मघाती हमला,जसमा परेर करीब ४० भारतीय अध्र्द सैनिकको मृत्यु समेत भएको थियो,को यस अघि नै बिरोध गरिसकेको उक्त प्रेस विज्ञप्तिमा जनाईएको छ ।

अहिले विश्वमै विकास,शान्ति,मानव अधिकारको विषयमा बढी जोड दिने गरिएको छ भने जुनसुकै आतंकवादका बिरुध्द ऐक्यबध्दताकालागि विभिन्न अबसरमा बहस हुने गरेको छ । मानवीय भावना बिरुध्द मानिने यस्ता आतंकवादको सबैतिरबाट भत्र्सना जरुरी छ ।