भारतीय निर्वाचन नेपाली चासो, लोकतन्त्रको उत्सव सुरु : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदी
प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय निर्वाचन आयोगले संघीय संसद् लोकसभाको निर्वाचन मिति घोषणा लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्रको उत्सव सुरु भएको बताएका छन् ।

‘लोकतन्त्रको उत्सव अर्थात् चुनाव आयो,’ मोदीले टिवटरमा लेखेका छन् । उनले लोकसभा चुनावलाई सफल बनाउन सबै नागरिकलाई सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे ।‘मलाई आशा छ, चुनाव ऐतिहासिक मतदानको साक्षी बन्ने छ, म विशेषगरी पहिलो पटक चुनावमा सरिक हुने कीर्तिमानी संख्याका मतदातालाई आह्वान गर्छु,’ मोदीले भनेका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार चुनाव ७ चरणमा हुनेछन् । आयोगले ५४३ सदस्यीय (थप दुई मनोनीत) लोकसभाका लागि पहिलो चरणको मतदान अप्रिल ११ (चैत २८) लाई तय गरेको छ । अन्तिम सातौं चरण मे १९ (जेठ ५) मा सकिने आइतबार साँझ आयोगले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । भारतीय लाेक सभाकाे चुनाव अन्तर्गत बिहार र युपी राज्यको नेपाली सिमानासंग जाेडिएका जिल्लाहरूमा समेत चहलपहल तिव्र भएको छ।

१८ अप्रीलमा किशनगंज, कटिहार ,पुर्णिाया,  भागलपुरमा हुन गईरहेकाे दाेश्राे चरणकाे चुनाव र तेश्राे चरणमा हुने झंझारपुर, सुपाैल, अररिया, मधेपुरा र चाैथाे चरणमा हुने दरभंगा जिल्लाकाे चुनावलाई सिमावर्ती नेपालका बुद्धिजीवी र राजनितिज्ञहरूले गम्भीरतापूर्वक हेरिरहेका छन् । त्यति मात्रै हाेईन भारतकाे उत्तर प्रदेशका पिलिभित, लखीमपुर, बहराईच, श्रावस्ती, बलरामपुर, गाेपालगंज, सिद्वार्थनगर र महाराजगन्ज जिल्लामा हुने आम चुनावलाई समेत नेपाली मतदाताहरूले चासोका साथ हेरिरहेका छन् । नेपाली सिमानासंग जाेडिएकाे भारतको बिहारका  जिल्ला पुर्वी चम्पारण, पश्चिमी चम्पनरण, सीतामढी, मधुवनी, सुपाैल, अररिया र किशनगंजमा समेत चुनावी सरगर्मी शुरू भएको छ ।

चुनावमा ९० करोड मतदाताले विद्युत् मेसिनमार्फत भोट हाल्ने छन् । त्यसका लागि १० लाख मतकेन्द्र तोकिएका छन् । लोकसभाको ५ वर्षे कार्यकाल आगामी जुन ३ मा सकिँदैछ । भारतीय संविधानले त्यसअघि नै नयाँ लोकसभा गठन भइसक्नुपर्ने व्यवस्था गरेको छ । नयाँदिल्लीको विज्ञान भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त सुनिल अरोराले १७ औं लोकसभाको मिति घोषणा गर्दै मतगणना मे २३ (जेठ ९) मा हुने जनाए ।

सन् २०१४ को भारतीय लोकसभा चुनावमा सत्ताधारी गठबन्धन एनडीएले ३४१ सिट जितको थियो । एनडीएको प्रमुख दल भारतीय जनता पार्टी (भाजपा) एक्लैको २८२ सिट थियो । भारतीय राष्ट्रिय कंग्रेसले ४४ सिटमा चित्त बुझाएको थियो । तर किसानका समस्या, बेरोजगारी, नोटबन्दी, रफाल लडाकु विमान खरिद प्रकरणजस्ता मुद्दा तथा भारत–पाक तनाव बीच हुन गइरहेको चुनावमा तीव्र प्रतिस्पर्धा हुने जानकारहरु बताउछ ।