मित्रराष्ट्र भारतको ७० औं गणतन्त्र दिवसको शुभकामना

70th-Republic-Day-Images-GIF-2018-26th-January-Imagesछिमेकी मित्रराष्ट्र भारतको ७० औं गणतन्त्र दिवस शनिबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । सार्वभौम सत्ताका मालिक जनता हुन् र जनताको ईच्छा नै सर्वोपरि हुन्छ भन्ने सन्देश वाहक गणतन्त्र स्थापनाको भारतमा ७० वर्ष भएको छ । यही अवसरको स्मरण तथा आगामी दिनमा राष्ट्रको उन्नति,प्रगति र जनता वीचको सम्बन्ध अझै दरिलो पार्दै राष्ट्रिय एकता अझै मजबूत बनाउँदै अघि बढ्ने भावनाका साथ यस्ता दिवस मनाईने गरिन्छ ।

यसका साथसाथै परिवर्तकालागि प्राँतःस्मरणीय सहिदहरुले गरेको योगदानको सम्झना तथा उनीहरुको गाथा स्मरण गर्दै देश तथा जनताको हितमा सत्कर्म गर्ने प्रेरणा आर्जनका रुपमा पनि यस्ता दिवसको महत्ता रहनेमा विमति नहोला । भारतले स्वतन्त्रता हासिल गरे यता विकासको पथमा निकै फड्को मारिसकेको छ । एक असल छिमेकी मित्रका रुपमा रहेको भारतको यो प्रगति नेपालकालागि पनि खुशीको विषय रहनेमा आशंका नहोला । नेपालको विकासकालागि भारतले पनि समय समयमा महत्वपूर्ण सहयोग गर्दै आएको छ ।

शिक्षा,स्वास्थ्य,यातायात,कृषि लगायत विभिन्न क्षेत्रमा भारतले नेपाललाई गरेको सहयोग महत्वपूर्ण छ । भौगोलिक अवस्थिति, भाषा, संस्कृति,रहनसहन लगायत विभिन्न दृष्टिकोणले भारत तथा नेपालको सम्बन्ध अनुपम तथा विशिष्ट प्रकारको रहेको वास्तविकता जगजाहेर नै छ । त्यसै कारण नेपालको हितमा हुने कुरा भारतको पनि हितमै हुने भन्ने गरिएको पनि देखिन्छ ।

भारतको स्वतन्त्रता संग्राममा नेपालीले पनि रगत बगाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा बताईसक्नु भएको छ । यस भनाईले पनि हाम्रो विशिष्ट प्रकारको आपसी सम्बन्धलाई धेरै हदसम्म उजागर गरेको मान्न सकिन्छ ।

लामो राजनीतिक अस्थिरता पछि नेपालमा पनि नयाँ संबिधान जारी भई जननिर्वाचित सरकार गठन भएको छ । दुई सय ५० वर्षको राजतन्त्रलाई विस्थापित गरी नेपाल पनि गणतन्त्रमा प्रवेश गरेको अवस्था छ ।

यस परिप्रेक्षमा रहेभएका समस्याको समाधानका साथै विकासमा गति बढाउनु नेपालकालागि आवश्यक विषय बनेको छ । परिवर्तनलाई संस्थागत गर्दै जनतालाई विकासको प्रत्याभूति दिलाउनु अहिलेको गहन जिम्मेवारी नेपाल सरकारको काँधमा रहेकोमा दुई मत नहोला । उत्तर तर्फ चीन तथा दक्षिण तर्फको मित्र भारतले विकासको पथमा हासिल गरेको उपलब्धिबाट नेपालले पनि प्रेरणा लिनु सान्दर्भिक हुनेमा आशंका रहने छैन ।

यी दुबै मुलुकको विकास कुनै न कुनै रुपमा नेपालका लागि पनि खुशी कै परिचायक हुने तथा आपसी सम्बन्धलाई अझै प्रगाढ तुल्याउँदै नेपालले पनि विकासको कदममा तीब्रता दिनु पर्ने वेला आएको छ । एक्काइसौं सताब्दीको हाँकको सामना गर्न विकासको गति बढाउनुको विकल्प रहन्न । भारतले गणतन्त्र दिवस मनाएर आगामी दिनमा मुलुकलाई अझै समृध्द बनाउने बारेमा मन्थन गर्दा नेपालले पनि परिवर्तित सन्दर्भमा विकास तथा समृध्दिका विषयमा ठोस योजनाका साथ अघि बढ्नु जरुरी छ ।

एक छिमेकीको प्रगतिबाट अर्कोले प्रेरणा लिने आधार तयार हुने कुरालाई मनन गर्दै नेपालले पनि आफ्ना स्रोत साधनको उपयोग गरी विकासका काममा गति दिनु पर्ने वेला आएको छ । भारत तथा नेपालको अकाट्य सम्बन्ध आगामी दिनमा अझै दरिलो बन्दै जाओस्,समृध्दिको लक्ष्य प्राप्तीले एकआपसमा अझै सुखद् वातावरण निर्माणमा मद्दत पुगोस् । भारतीय गणतन्त्र दिवसमा हाम्रो पनि शुभकामना ।