मोदी भ्रमणका अपेक्षा

modiमित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाख २८ गते दुई दिने भ्रमणकालागि नेपाल आउँदै हुनुहुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुर हुँदै मोदीको यस पटकको नेपाल भ्रमणलाई विशेष महत्वकासाथ हेरिएको छ ।

जनकपुरबाट सुरु हुने भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणको तयारीको जिम्मा प्रदेश २ को सरकारलाई समेत दिईएको हो । जस अनुसार वहाँलाई जनकपुरमा नागरिक अभिनन्दन समेत गरिने भएको छ । भारतीय प्रधानमन्त्रीलाई स्वागतका क्रममा जनकपुर नगरको साँचो प्रदान गर्ने देखि नगरका घर घरमा कलश राख्ने सम्मका स्वागत कार्यक्रम तय भएका छन् । यति वेला जानकीको क्रिडा भूमि जनकपुरधाम मोदीमय बनेको छ ।

प्रधानमन्त्री भए यता मोदी तेस्रो पटक नेपाल भ्रमण गर्दै हुनुहुन्छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधान मन्त्री नियुक्त भएपछि हालै भारत भ्रमणबाट फर्के लगत्तै मोदी पनि तेस्रो पटक नेपाल आउन लाग्नु भएको हो । नेपाल तथा भारत दुई अति घनिष्ट मुलुक हुन् । यी दुई मुलुकका वीच भौगोलिक अवस्थितिले जुन सामिप्यता बढाएको छ,यस बाहेक धार्मिक, भाषिक, सांस्कृतिक रुपमा समेत यी दुई मुलुकका वीचको सम्बन्ध अझै दरिलो बनेको छ । अयोध्याका राजकुमार राम तथा मिथिलाकी राजकुमारी सीताका वीच कायम भएको वैवाहिक सम्बन्धले भारत तथा नेपालका वीचको मित्रतामा अझै हार्दिकता बढाएको छ । यी सबै विषयहरु नेपाल तथा भारत वीचको मित्रताका कडी हुन्,जसलाई दीगो राख्नकालागि रोटी वेटी समेतको सम्बन्धले अझै मलजल गर्दै आएको छ ।

जनकपुर, काठमाण्डौं र मुक्तिनाथ सम्म यस पटक मोदीको भ्रमणको तालिका सार्वजनिक भएका कारणले पनि यो भ्रमणले तराई मधेश, राजधानी काठमाण्डौं उपत्यका लगायत पश्चिम पहाडी भेगमा समेत निकै चर्चा परिचर्चालाई बढाएको छ । मोदी भ्रमणलाई लक्षित गरी जनकपुर उपमहानगरपालिकाले प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिनन्दन समारोहमा आमन्त्रण गरेको छ । जनकपुरबाटै दुबै देशका प्रधानमन्त्रीले जनकपुरदेखि भारतको अयोध्यासम्मकालागि लक्षित गरी रामायण सर्किटको घोषणा कार्यक्रम पनि प्रमुख आकर्षण रहने छ । धार्मिक, सांस्कृतिक सँगै भावनात्मक समेत रहेको यस भ्रमणलाई भव्य र सभ्य तरिकाबाट सफल बनाउनकालागि नेपाल सरकार लागि परेको छ ।

यस पटकको भ्रमणमा दुबै देशका प्रधानमन्त्रीबाट अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्त रुपमा शिलान्यास समेत गर्ने महत्वपूर्ण कार्यक्रम समावेश छ । उक्त आयोजनामा लगानी गर्ने गरी भारत सरकारले ९१ अर्ब ५६ करोड ८० लाख रुपियाँ बजेट मार्फत छुट्याई सकेको छ । मोदीको भ्रमणको सन्दर्भ सप्तरीसित पनि जोडिएको मान्नु पर्दछ । भारतको स्वतन्त्रता संग्राममा सप्तरीका क्रान्तिकारी युवाहरुको समेत साथ र सहयोग रहेको कुरा प्रति ईतिहास साक्षी छ । दुई मुलुकका वीच एउटाको हित नै अर्काकालागि समेत हितकारी रहने खालको सम्बन्ध भएका कारण यस पटक सप्तरीबाट मात्र भारतीय प्रधाानमन्त्रीको स्वागतकालागि कम्तिमा सात हजार जनता जनकपुर जाने तयारी भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

मोदी भ्रमणको यस अवसरमा नागरिक अभिनन्दन समन्वय समितिको निर्णयबाट सप्तरीको विकाससित सम्बन्धित ध्यानाकर्षण पत्र समेत बुझाईने बताईएको छ । भारतको निर्मली न्यौर जेपि लोहिया गेट सम्म रेल वे हेड,राजविराजस्थित औद्योगिक क्षेत्रमा ठूला उद्योगको स्थापना,कोशी व्यारेजको स्तरोन्नति,दसगजामा खाँडो नदीको पानीको निकास, छिन्नमस्ता कंकालनी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासको व्यवस्था,कोशी चतरा हाईड्याम नहर निर्माण तथा भारतीय सहयोगमा सञ्चालित करीब आधा दर्जन योजनाहरुको पूर्णता लगायतका विषय सप्तरीको विकासकालागि आवश्यक छन् । मोदी भ्रमणको यस घडीमा ती कामहरु हुन सकून् अनि सप्तरीमा पनि विकासले गति लेओस् भन्ने अपेक्षा यहाँका जनताको छ । मित्र राष्ट्र भारतका प्रधानमन्त्रीको नेपाल आगमनको यस महत्वपूर्ण घडीमा यी अपेक्षाको परिपूर्ति हुन सकोस्, अहिले यही कामना ।