विप्लव माथि प्रतिबन्ध लगाउने सरकारको निर्णय, प्रतिवाद गर्ने : विप्लव

कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’ प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के–को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

netra-bikram-chandसरकारले (नेत्रविक्रम चन्द ) विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को गतिविधि माथि आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेकपाको विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी उच्च स्रोतले सप्तरी जागरणलाई बताएको छ ।

विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि आपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यस समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले  सप्तरी जागरण अनलाइनलाई बताए । परराष्ट्र मन्त्री ज्ञवालीले विप्लव समूहले राजनीतिक गतिविधि नगरेकाे र आपराधिक समूहले गर्ने गतिविधि गरेकाले एक आपराधिक समूहकै रुपमा व्यवहार गरिने बताए ।

पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ । विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसाले संचारकर्मीसँग कुरा गर्दै भने, ‘सरकारले आज गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’

साथै नेता भुषालले सरकारको यो निर्णयले नेकपालाई कुनै असर नगर्ने दावी गरेका छन् । उनले भने, ‘सरकारको यो निर्णयले हामीलाई कुनै असर गर्दैन । हामी जनताको पक्षमा लड्छौँ ।’

यता फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका छन् ।

‘कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’ प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के–को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको समेत बताए । उनले भने, ‘कम्यूनिष्टले त यूवाहरुलाई कर्मशील हुन,सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्यूनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गरेका छन् । आपराधिक समूह घाेषणा भएसँगै विप्लव समूहका नेता तथा कार्यकर्ता सबैलाई जुनसुकै बेला पनि प्रहरीले पक्राउ गरी कारबाही गर्न सक्नेछ । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् ।