संविधान संशोधन नभएसम्म आफुहरुको संघर्ष जारी रहने : मुख्यमन्त्री मो. राउत

IMGL7969प्रदेश २ का मुख्यमन्त्री मो. लालवावु राउतले संविधान संशोधनको मुद्दा आफुहरुले अहिले पनि पहिलो प्राथमिक्तामै राखेको भन्दै संशोधन नभएसम्म आफुहरुको संघर्ष जारी रहने वताएका छन् ।

सप्तरीको कञ्चनपुरमा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई संवोधन गर्दै उनले भने–‘सरकारमा गएर पनि हामीले मुद्दा विसर्जन गरेका छैनौं, अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ ।’

मधेशको नाममा राजनिति गर्ने अन्य पार्टीभन्दा आफुहरुको पार्टी अझै पनि अग्र पंक्तिमै रहेको दावी गर्दै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका राउतले भने–‘हाम्रो पार्टी अहिले पनि मधेशी, पहाडका जनजाती तथा उपेक्षित समुदायको अधिकारका लागि संघर्षरत छ, कसैले आफुलाई यस मुद्दामा वढि क्रान्तिकारी देखाउनुको तुक छैन ।’

संघियता, धर्मनिरपेक्षता र समावेशीताको मुद्दामा फोरमले गरेको संघर्ष अहिले पनि जनताको मानसपटलवाट नहराएको दावीका साथ उनले थपे–‘यस मानेमा कोहि आफुलाई क्रान्तिकारी ठान्दछ भने फोरम भन्दा ठुलो क्रान्तिकारी हुन् सक्दैन ।’

मुख्यमन्त्री राउतले शुक्रवारै कञ्चनरुप नगरपालिमा दुई सातादेखि फैलीएको मौसमी रुघाखोकी तथा उच्च ज्वारोवाट मृत्यु भएका ४ जनाका अभिभावकलाई प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत रकम वितरण गरेका छन् ।

उनले सप्तरीमा अहिले वढेको मौसमि रुघाखोकीको प्रकोप नियन्त्रणका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने समेत जानकारी दिए । उक्त कार्यक्रममा प्देश २ का भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आन्दोलनको उपलब्धी स्वरुप प्रदेश २ मा मधेशी दलको सरकार गठन भएको भन्दै जनतामा परेको पिरमर्काप्रति सरकार सदैव जनताकै साथमा रहने वताए ।