सप्तरीमा स्वाईन फ्लु र हङकङ फ्लु , चार बालबालिका सहित ५ को मृत्यु, तीन स्थानिय तह प्रभावित

कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको हो

IMGL7616सप्तरीको महदेवा गाउँपालिका–१ का ८ बर्षिय महफुल आलमको बुधवार विराटनगर स्थित एक निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । समान्य ज्वरो र रुघा जस्ता समस्या देखिएको आलमलाई विरामी परेको ४÷५ दिन पछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा पनि दुई दिन उपचार भयो यद्यपी उनलाई बचाउन सकिएन । भाईरल ज्वरोका कारण आलमको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले वताएको पिडित परिवारको भनाई छ ।

बुधवारै सप्तरीको कञ्चनरुप नगरपालिका–४ की ६० बर्षिय भाल्सरदेवी सरदारको पनि निधन भएको थियो । भारतको झारखण्ड राज्य अन्तर्गत पर्ने बैद्यनाथधामवाट तिर्थ यात्रा गरेर फर्केकी भाल्सर समान्य ज्वरो तथा रुघाका कारण एक सातादेखि विरामी थिईन । घरमै उनको मृत्यु भएको परिवारजनले जनाएको छ ।

यसअघि पछिल्लो महिना कंचनरुप–७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र  वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । पछिल्लो एक महिना यता सप्तरीमा ४ जना बालबालिका सहित पाँच जनाले यसरीनै ज्यान गुमाई सकेका छन् । मृत्यु भएका पाँचै जनामा प्रारम्भमा समान्य ज्वरो तथा रुघा देखिने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या लगायतका लक्षणहरु देखिएका थिए । यद्यपी उनीहरुलाई जोगाउन भने सकिएन ।

मृत्यु भएका कसैको पनि पोष्टमार्टम लगायत स्वास्थ्य परीक्षण गर्न नसकिएको हुँदा उनीहरुको मृत्युको बास्तविक कारण भन्न सकिने अवस्था नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको भनाई छ । यद्यपी सप्तरीको कञ्चनरुप तथा हनुमाननगर कंकालनी नगरपालिकामा स्वाईन र हङकङ फ्लुका विरामीहरु भेटिएपछि ती पाँचै जनाको मृत्युको कारण पनि स्वाईन र हङकङ फ्लु नै हुन सक्ने जानकारहरुको बुझाई छ ।

पछिल्लो एक महिना भित्रै नगर क्षेत्रका तीन जना बालबालिकाहरुको ज्वरोका कारण मृत्यु भएपछि नगरपालिका कार्यालयको विषेश पहलमा काठमाण्डौ र धारानवाट विषेज्ञ सहितको टोली ल्याई ती बालबालिकाहरुको मृत्युको कारण पत्ता लगाउनुका साथै अन्यहरुको उपचार शिविर लगाईएको थियो । भदौं २४ देखि तीन दिन सम्म सञ्चालित उक्त शिविरमा १ हजार १ सय २२ जनाको स्वास्थ्य परिक्षण गरिएको जसमध्यै २४ जनाको ¥याल र रगत विषेश परीक्षणका लागि काठमाण्डौ स्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला पठाईएको जिल्ला जनस्वास्थ्य अधिकृत निरञ्जन यादवले जानकारी गराए ।

यादवका अनुसार कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको हो । ८ जनाको भने अझै रिर्पोट आउन बाँकि नै रहेको यादवको भनाई छ । कञ्चनरुप नगरपालिका ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाईन फ्लुको संक्रमण देखिएको यादवले जानकारी गराएका छन् । कञ्चनरुपका अन्य ४ जना तथा हनुमाननगरका ६ जनामा हङकङ फ्लु फेला परेको उनको भनाई छ । स्वाईन फ्लु संक्रमण रहेको साहलाई उपचारका लागि धरान पठाईएको छ ।

कंचनरुप ‘विपद क्षेत्र’ घोषित

‘एचवन एनवन’ भाईरसवाट सर्ने स्वाईन फ्लु र एचथ्री एनटु भाइरसवाट सर्ने हंङकङ फ्लुका रोगिहरु भेटिएपछि सप्तरीको कंचनरुप नगरपालिका लागि विपद् क्षेत्र घोषणा गरिएको छ । विहिवार अबेर साँझ आकास्मिक बैठक वसी नगरपालिकाले कञ्चनरुप नगर क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरेको हो ।

रोगको संक्रमणलाई फैलिन नदिने उद्देश्यले सतकर्ता तहत नगर क्षेत्रका विद्यालयहरु शुक्रवारै वाट बन्द गर्ने निर्णाय समेत गरीएको छ । विद्यालयमा बालबालिकाहरु एक ठाउँमा जम्मा हुँदा एक अर्कामा रोग सर्न सक्ने हुँदा विद्यालय बन्द गरिएको कञ्चनरुप नगरपालिकाका प्रेस संयोजक उत्तम आचार्यले जानकारी गराए । झण्डै १२ हजार स्कुले बालबालिकाहरु रहेको कञ्चनरुप नगरपालिका भित्र ३० वटा सामुदायिक तथा २४ वटा निजी विद्यालय गरी ५४ वटा विद्यालयहरु सञ्चालनमा रहेको छ । मंगलवार सम्मका लागि विद्यालयहरु बन्द गरिएको प्रेस संयोजक आचार्यले जानकारी गराएका छन् ।
शनिवार पनि कंचनरुप नगरपालिका क्षेत्र भित्रका सवै स्वास्थ्य संस्थाहरु संचालन गरिएको छ । ती स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य चेक जाँच गराउनेहरुको लामनै रहेको नगरपालिकाका स्वास्थ्य सेवा संयोजक डम्बर प्रसाद गुप्ताले जानकारी गराए । हाल सम्म नगर क्षेत्रका २ हजार जना भन्दा वढीले स्वास्थ्य संस्थाहरुमा ज्वरो तथा रुघाको उपचार गराएको उनले जानकारी गराए । स्वास्थ्य संस्थामा ज्वरो तथा रुघाको उपचारका लागि आउने सवैजसो विरामीहरुको रक्त जाँच गर्ने गरीएको उनले वताए ।

विषेशज्ञ चिकित्सकको अभाव

कञ्चनरुप नगरपालिकाका स्वास्थ्य सेवा संयोजक गुप्ताका अनुसार विषेशज्ञ चिकित्सकको अभावमा उपचारमा समस्या भईरहेको अवस्था छ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्व स्वास्थ्य संगठन र नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहेका गरि हाल ५ जना एमविविएस डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोली कंचनरुप नगर क्षेत्रमा क्रियाशिल रहेको छ । शनिवार पनि कञ्चनरुप नगरपालिका अन्तर्गत पर्ने कंचनपुर, जगतपुर र ठेलिया गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

‘प्राप्त स्रोत साधनको आधारमा हामि आफ्नो तवरवाट सक्दो तदारुकता अपनाएका छौ’, संयोजक गुप्ताले भने, ‘औषधि लगायतका स्वास्थ्य सामग्रीहरु पनि नगरपालिकाले पर्याप्त मात्रामा खरिद गरेर ल्याएका छन्, त्यस्तै स्वयं सेविकाहरुलाई पर्चा पम्पलेट सहित जनचेतना अभियानका निम्ती घरदैलो कार्यक्रममा परिचालित गरिएको छ ।’ यद्यपी विषेशज्ञ चिकित्सको अभाव भने खडकिएको छ ।
जिल्ला जनस्वास्थ्य अधिकृत यादव पनि विषेशज्ञ चिकित्सको अभावमा काम गर्न समस्या भईरहेको वताउँछन् । ‘एमविविएस डाक्टरहरु आफ्नो क्षमता अनुरुप मिहनेत गरिराख्नुभएको छ, यद्यपी यहाँ एमडी गरेको फिजिसियनहरुको खाँचो रहेको छ’, यादवले भने, ‘हामिले सम्बन्धित निकायमा यसका लागि माग गरेका छौ, अन्य पहलहरु पनि गरिराखेका छौ ।’

सर्वसाधारणमा त्रास     

यता जिल्लाको एक पछि अर्को हुँदै तीन वटा स्थानीय तहहरुमा स्वाईन फ्लु र हङकङ फ्लुको संक्रमण देखिएपछि सर्वसाधारणहरु त्रसित भएका छन् । मृत्यु भएका बालबालिकाहरु मध्यै केहि भारतको झारखण्ड राज्य स्थित बैद्यनाथधामवाट तिर्थाटन गरेर आएको जानकारी बाहिरीएपछि झन् गाउँ गाउँमा त्रासको माहौल छ । साउन भदौ यता सप्तरीका प्रयः जसो गाउँवाट सयौका संख्यामा श्रद्धालुहरु बर्षैनी बैद्यनाथधाम जाने गरेका छन् ।

साथै भारतसँग जोडिएको झण्डै ७० किलोमिटर जति खुला सिमानाका कारण समेत सर्वसाधारणहरुमा त्रास देखिएको छ । यता सुँगुर, बंगुर, हाँस जस्ता जनावर तथा पंक्षिले यो रोग फैलिने हुँदा ग्रामिण भेगमा यसको संक्रमण बढन सक्ने अनुमान पनि सहजै गर्न सकिन्छ । यस भेगमा सर्वसाधारण कृषकहरु सुँगुर, बंगुर तथा हाँसको व्यावसायिक पशुपालन कारोवार नै गर्दै आएका छन् ।
कञ्चनरुप नगरपालिकालाई विपद क्षेत्र घोषणा गरी विभिन्न स्वास्थ्य अभियानहरु थालिएपनि महदेवा, हनुमाननगर कंकालिनीमा भने खासै तदारुकता भने देखिदैन । साथै जिल्लाका अन्य स्थानिय तहहरुले पनि देखाउनु पर्ने तदारुकता अझै देखाउन नसकिएको स्थानियहरुको गुनासो छ ।

‘एक पछि अर्को स्थानिय तहमा यो रोगका रोगिहरु फेला परिरहेको अवस्था छ, बाबाधाममा फर्केका तिर्थयात्रुहरु मार्फत रोग फैलिएको भनि प्रमाणित समेत भईसकेको अवस्था छ’, नागरिक समाजका अगुवा थानसिंह भन्सालीले भने, ‘साउन भदौमा सप्तरीका प्रत्येक गाउँ वस्तीवाट बाबाधाम जाने प्रचलन छ, त्यहाँवाट फर्केकाहरु गाउँ गाउँमा छन्, तर त्यता तर्फ सम्बन्धीत निकायको ध्यान गएको देखिदैन ।’

भन्सालीका अनुसार जिल्लामा यस्तो गम्भीर स्वास्थ्य चुनौति देखिएपछि यहाँका प्रत्येक स्थानिय तहहरुलाई युद्ध स्तरमा परिचालित गर्नुपर्ने अवस्था छ । यद्यपी त्यता तर्फ जिम्मेवार निकायहरुको मौनताले जिल्लामा ठुलै संकट ननिम्तएला भन्न सकिदैन ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सर्वसाधारणहरुलाई सचेतभएर वस्नु पर्ने सुझाव दिएका छन् । स्थानिय प्रशासनले सवै पक्ष सँग समन्वय गरीरहेको जानकारी गराउँदै प्रजिअ पौडेलले आफ्नो व्यक्तिगत तथा घरवरिपरिको सरसफाई लगायतमा विषेश ध्यान दिदै सर्वसाधारणलाई अलि सचेत भएर वस्न आग्रह गरेका छन् । रोगको पहिचा, उपचार, रोकथाम, सर्वसाधारणमा सचेतना अभिवृद्धि लगायतका चौतर्फि कार्यहरु प्रारम्भ गर्न योजना अनुरुप जिल्ला स्थित सम्पुर्ण अंगहरुलाई परिचालित गरिसकिएको प्रजिअको भनाई छ । यसका साथै भारतीय नाकाहरुमा विषेश शतकर्तता, स्वास्थ्य चाँज टोली परिचालन र बैद्यनाथधामवाट तिर्थ गरेर फर्किनेहरुको नाकामै स्वास्थ्य जाँच गर्ने योजना अनुरुप काम थाल्ने तयारी भईरहेको उनले वताए ।