पूर्व प्रम भट्टराईको प्रश्न :- सिके राउतलाई सेटिङ गर्ने, रेशमलाई जेल पठाउने ?

pressmeetवर्तमान सरकार काण्डै काण्डमा फँस्नुका साथै भ्रष्टाचारलाई चरम सीमामा पु¥याएको र एकपछि अर्को गल्ती गर्दै मुलुकलाई उल्टो दिसा तर्फ लगिरहेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले आरोप लगाएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा मंगलवार नेपाल प्रेस सोसाईटी, शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।

‘अहिलेको सरकार वाइडबडी काण्ड, एनसेल काण्ड, बुढी गण्डकी काण्ड, सुनकाण्ड लगायतका काण्डै काण्डमा फसेको छ, उनले भने–‘जसकारण भ्रष्टाचार चरम सीमामा पुगेको छ भने देशको आर्थिक विकासमा नाकारात्मक प्रभाव पारेको छ ।’

पृथकतावादी आन्दोलन गरिरहेका सीके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरीको विषयमा पनि सरकारले दोहोरो चरित्र देखाएको र न्यायलयलाई प्रभावमा पारेको आरोप पनि उनले लगाए । राउतलाई सेटिङ मिलाएर नै रिहा गराइएको आरोप लगाउँदै उनले भने ‘पृथकतावादी आन्दोलन गर्ने राउतलाई सेटिङ गरेर निकाल्ने र तत्कालै सहमति पनि गर्ने, अनि राजनीतिक विद्रोह गरेकालाई आजन्म कारावास हुने ? उनले टिकापुर घटनामा सुरक्षाकर्मी मारिनु दुःखद भएपनि टिकापुर घटना राजनैतिक विद्रोह भएकोले राज्यले सोही अनुरुपको व्यवहार देखाउनु पर्ने जिकिर गरे ।

उनले कार्यपालिकाको लाचार छायाँ न्यायपालिका र व्यवस्थापिकामा पनि पर्न थालेको भन्दै यसले भविष्यमा मुलुकलाई संकटमा पार्न सक्ने बताए । थारु विद्रोहका कारण मुद्दा खेपेका रेशम चौधरी र राज्य विप्लवको मुद्दा खेपेका सीके राउतको सन्दर्भमा फरक–फरक निर्णय आउनु न्यायोचित न भएको उनको भनाई थियो । चौधरी र राउत प्रकरणमा सरकार र न्यायलयले देखाएको दोहोरो नीति असोभनिय भएको उनले बताए ।

विप्लव समूह सरकारको कुशासन र भ्रष्टाचारकै कारण पैदा भएको चर्चा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीन वटै तहमा गठन गर्नु पर्नेमा जोड दिए । यसरी गठन गरिएका जनलोकपालले सिधै निर्वाचित प्रतिनिधि सभा प्रति उत्तरदायित्व भएर कार्यपालिका र न्यायपालिकामा जो जस्ले भ्रष्टाचार गर्छ, त्यसलाई सिधै कार्वाही गर्न सक्छन उनको भनाई थियो ।