११ बुँदे सहमति हतारमा : पूर्वप्रम डा.भट्टराई, छिन्नमस्ताको बजेट ३४ करोड

???????????????????????????????नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार भएको ११ बुँदे सहमति नाटकीय र हतारमा भएको भन्दै यसले विभिन्न खाले शंका उब्जाएको बताएका छन् ।

सोमबार सप्तरीको छिन्नमस्ता गाउापालिकाको दोश्रो गाउँसभाको निर्णय सार्वजनिकीकरण समारोहको उद्घाटन गर्न यहाँ आइपुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराईले राजविराज विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै भने सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमति नाटकीय ढंगले र हतारमा आएको छ यस्तो हतारोले विभिन्न खाले शंका पनि उब्जाएको छ ।

११ बुँदे सहमतिको २ नं. बुँदा दोहोरो अर्थ लाग्ने र यसलाई सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले आ-आफ्नै ढंगले ब्याख्या गरिरहेको भन्दै उनले भविष्यमा यसले थप समस्या खडा गर्न सक्ने चिन्ता समेत व्यक्त गरे ।

मुलुक विखण्डनको आन्दोलन गरिरहेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई वार्तामा ल्याएर समस्या समाधानको प्रयास गर्नु त सकारात्मक नै हो, उनले भने “ तर, सरकारले कुनै नीजि स्वार्थमा सहमति गरेको हो, भने त्यो भविष्यमा झनै समस्या खडा गर्नेछ ।”उनले अघिल्लो दिन आइतबार जनकपुरमा सीके राउतका कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा लगाएका नारा सहमति विपरीत भएको जिकिर गर्दै यस्तो गतिविधि रोक्न राउतलाई सुझाव पनि दिए ।

छिन्नमस्ता गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलको अध्यक्षतामा आयोजित तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा उद्घाटन गरिएको दोश्रो गाउँ सभाको निर्णय सार्वजनिकीकरण समारोहमा वडाअध्यक्ष दिपेन्द्र यादवले आगामी आर्थिक वर्ष ०७५-०७६ का लागि ३४ करोड २ लाख ३० हजार रुँपैया बराबरको बजेट प्रस्तुत गरेका थिए ।  भारतीय सीमासँग जोडिएको यो गाउँपालिकाद्वारा प्रस्तुत बजेटमा छिन्नमस्तालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास, विद्युत बिस्तार, सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका शिर्षकलाई उच्च प्राथमिकतामा राखिएको छ ।