विराटनगर — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार झापाको जामुनबारी चोकमा मुक्का प्रहार भएको छ। नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले उनीमाथि आक्रमण गरेका हुन।
नेपाल प्रेस युनियनको दोमुखामा आयोजित पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो। थापा सवार गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई ओभरटेक गर्दा विवाद भएको थियो। त्यही क्रममा थापाका पिएसओले गाडीमा भिआइपी सवार रहेको बताएका थिए।
कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार, नेपाल विद्युत् प्राधिकरणको गाडीका चालकले थापा सवार गाडीलाई रोकेर आक्रमण गरेका थिए।
उनका अनुसार प्राधिकरणका चालकले ‘देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर हुन्’ भन्दै थापाको निधार र आँखामा मुक्का प्रहार गरेका थिए। घटनापछि थापालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा प्राथमिक उपचार गरिएको र त्यसपछि उनी घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीद्वय झापाकै शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन्।
बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेको प्रहरीले जनाएको छ।