Saptari Jagran विराटनगरमा प्रचण्ड : छोरीज्वाईँको घरमा बास, मर्निङवाकमा भक्का भोजन - सप्तरी जागरण

सर्च

विराटनगरमा प्रचण्ड : छोरीज्वाईँको घरमा बास, मर्निङवाकमा भक्का भोजन

विराटनगर– जिल्ला दौडाहामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बेलुकै विराटनगर आएका छन्।

छोरी र नातिनीसहित विराटनगर आएका दाहाल शुक्रबार राति विराटनगर–१ पोखरियास्थित कान्छा ज्वाईँ जीवन आचार्यको घरमा बास बसे। शनिबार बिहानै ‘मर्निङवाक’मा निस्किए। ६ बजेदेखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म ‘मर्निङवाक’ गरेका उनी त्यसपछि ठूलो मिलचोक पुगे।

त्यहाँ पुगेर उनले राजवंशी समुदायका महिलाले बनाएको भक्का र चिया खाए। भक्का चामलको पिठोलाई बफ्याएर बनाईने पूर्वी तराईको मौलिक परिकार हो। यो परिकार प्राय जाडो याममा विक्रि हुने गरेको छ।

दाहालले आजै विराटनगर– १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन पनि गरेका छन्। उनले गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै त्यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ,’ दाहालले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ। यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु।’

दाहालले दिउँसो ग्रामथान गाउँपालिकाको तेतरियामा हुने बधाई ज्ञापन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सभालाई सम्बोधन गरेपछि दिउँसो करिव ४ बजे उनी राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ।

Related Articles